काठमाडौं– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
रावल नेपाल राष्ट्र बैंकका अनुभवी अधिकारीमध्ये एक हुन्। उनी हाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। उनले बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशक को जिम्मेवारी सम्हाल्दै आएका थिए।
राष्ट्र बैंकमा करिब दुई दशक लामो अनुभव संगालेका रावलले बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण र व्यवस्थापनसम्बन्धी काममा अनुभव हासिल गरेका छन्। लामो समयदेखि केन्द्रीय बैंकभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी अब मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीको प्रमुख जिम्मेवारीमध्ये एक डेपुटी गभर्नर पदमा पुगेका हुन्।
राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ। यसअघि डेपुटी गभर्नर रहेकी नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरेपछि दुवै पद रिक्त भएका थिए। सरकारले यसअघि एक पदमा किरण पण्डितलाई नियुक्त गरेको थियो भने अब अर्को रिक्त पदमा रावल नियुक्त भएका हुन्।
नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नरको नियुक्ति नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा गर्ने व्यवस्था छ। डेपुटी गभर्नरको कार्यकाल पाँच वर्ष हुने कानुनी प्रावधान छ।
रावलको नियुक्तिसँगै नेपाल राष्ट्र बैंकले दोस्रो डेपुटी गभर्नर पनि पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।