काठमाडौं – निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भएका छन्।
पछिल्लो समय लगातार कलाकार थपिँदै गएको फिल्ममा रक्षा र मञ्जिलको प्रवेशसँगै यसको कलाकार टोली थप रोचक बनेको छ।
रक्षाले फिल्म ‘बाटो’बाट अभिनय यात्रा सुरु गरेकी हुन्। उनको पछिल्लो रिलिज फिल्म ‘बेहुली फ्रम मेघौली’ हो भने उनी अभिनीत फिल्म ‘मास्टर्नी’ यही भदौ ५ गतेबाट प्रदर्शनमा आउँदैछ।
मञ्जिलकुमारले भने ‘कोसेढुङ्गा’बाट नेपाली फिल्ममा डेब्यु गरेका हुन्।
सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा यसअघि नै अभिनेता मुकुन भुसाल, अभिनेत्री सलिना तामाङ तथा अभिनेता रेयर राई अनुबन्धित भइसकेका छन्।
मुकुन र सलिना फिल्ममा मुख्य भूमिकामा देखिनेछन् भने सलिनाले यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेकी हुन्।
फिल्मको कथा तथा पटकथा सुमन गजमेरले लेखेका हुन्। निर्माण पक्षका अनुसार कलाकार छनोटको प्रक्रिया अघि बढाउँदै छायांकनको तयारीसमेत भइरहेको छ। फिल्मका लागि विभिन्न स्थानमा लोकेसन रेकी भइरहेको निर्माण पक्षले यसअघि नै जनाएको थियो।
‘कंगाल करोडपति’का प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन्। सहनिर्मातामा छिरिङ तामाङ, प्रविन राई र प्रवेश सापकोटा छन्। रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।
मुकुन भुसाल, सलिना तामाङ, रेयर राई, रक्षा थापा र मञ्जिलकुमारजस्ता कलाकारको सहभागिताले ‘कंगाल करोडपति’प्रति दर्शकको चासो बढाउने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।