काठमाण्डौं– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको प्रसिद्ध बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा शुरु भएको छ ।
दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै मुख्य पूजाअघि नै पूजा शुरु गरिएको हो ।
यसवर्ष मुख्य पूजा भदौ ११ गते हुनेछ । एकै दिन ठूलो सङ्ख्यामा दर्शनार्थीको भीड हुने भएकाले व्यवस्थापन सहज बनाउन आजदेखि नै पूजा शुरु गरिएको हो । बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुने परम्परा छ ।
गएको वर्ष बडीमालिका मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए । यस वर्ष पनि दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि क्षेत्रको आकर्षण थप बढेको स्थानीयबासिन्दाको भनाइ छ ।
नेपालका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत हरेक वर्ष ठूलो सङ्ख्यामा भक्तजन तथा पर्यटक बडीमालिका पुग्ने गरेका छन् । पूजा तथा मेला व्यवस्थित बनाउन जिल्ला प्रशासन, पालिका र सुरक्षा निकायले तयारी तीव्र पारेका छन् । मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राखिनेछ भने धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तु निषेध गरिएको छ।
समुद्री सतहबाट झण्डै ४ हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका कारण पनि चर्चित छ । त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँट, खेतीबेती, विष्णुपानी र धर्मद्वार त्यहाँका प्रमुख आकर्षण हुन् । धार्मिक विश्वास र प्राकृतिक सौन्दर्यको अद्भुत सङ्गमका रूपमा परिचित बडीमालिकामा पछिल्ला वर्षमा भक्तजन तथा पर्यटकको आगमन बढ्दै गएको छ ।
जनैपूर्णिमाको अवसरमा हुने मुख्य पूजाका लागि देशका विभिन्न ठाउँबाट सरकारी पूजा टोली तथा भक्तजनसमेत बडीमालिका पुग्ने गर्छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।