



काठमाडौं- कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्पदेखि करिब १ किलोमिटर टाढा शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र. ०२-००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा. ००१ ह ५२२ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटो चालक, अटोमा सवार तथा स्कुटरमा सवार गरी सात जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएकोमा गम्भीर घाइतेमध्ये एक बालकलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको विवरण यस प्रकार रहेको छः
स्कुटर चालक कञ्चनपुर बेलडाँडी गाउँपालिका–२ बस्ने ४० वर्षीय दिनेश खाती, अवस्था सामान्य ।
स्कुटर चालकका छोरा ६ वर्षीय अर्थक खाती, अवस्था गम्भीर । थप उपचारका लागि निशर्ग अस्पताल धनगढी रिफर ।
अटो चालक कञ्चनपुर बेलडाँडी गाउँपालिका–१ सिद्धचोक बस्ने ४५ वर्षीय ललित सिंह ठकुराठी, अवस्था गम्भीर मायामेट्रो अस्पताल धनगढी रिफर ।
अटो चालकका छोरा १८ वर्षीय हिक्मत ठकुराठी, अवस्था मध्यम मायामेट्रो अस्पताल धनगढी रिफर ।
अटोमा सवार सोही स्थान बस्ने ३६ वर्षीया सुशिला ठकुराठी, अवस्था सामान्य ।
सुशिला ठकुराठीकी छोरी १५ वर्षीया आशिका ठकुराठी, अवस्था मध्यम मायामेट्रो अस्पताल धनगढी रिफर ।
अटोमा सवार सोही स्थान बस्ने २५ वर्षीया शोभा डाँगा, अवस्था मध्यम ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा संलग्न अटो र स्कुटर नियन्त्रणमा रहेका छन् ।
उक्त स्थान इलाका प्रहरी कार्यालय बेलडाँडीबाट करिब ५ किलोमिटर उत्तरमा पर्दछ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।