काठमाडौं– सरकारले शनिबार काठमाडौंका विभिन्न बिक्री केन्द्रबाट एकै दिन ६ हजार ८ सय २ वटा खाना पकाउने ग्यास सिलिन्डर बिक्री गरेको छ। तर, ठूलो संख्यामा उपभोक्ताले ग्यास नपाएको भन्दै अझै पनि समस्या कायमै रहेको गुनासो गरेका छन्।
पाँच केन्द्रबाट ५ हजार ९ सय ७२ सिलिन्डर बिक्री
नेपाल आयल निगमले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा काठमाडौंका पाँच स्थानमा बिक्री केन्द्र तोकेर ग्यास वितरण गरेको थियो। ती केन्द्रमा बिहानैदेखि ग्यास लिन उपभोक्ताको लामो लाइन लागेको थियो।
निगमका अनुसार टेकुबाट २ हजार २ सय ९०, पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६ सय, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७ सय ६२, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट ७ सय २० र बसुन्धराको राधास्वामी केन्द्रबाट ६ सय सिलिन्डर बिक्री भएको छ।
बालाजु र साल्ट ट्रेडिङबाट पनि बिक्री
बालाजु काउन्टरबाट ५ सय तथा साल्ट ट्रेडिङका जडीबुटी र कालीमाटी काउन्टरबाट ३ सय ३० सिलिन्डर बिक्री भएको निगमले जनाएको छ।
यसरी दिनभरिमा कुल ६ हजार ८ सय २ वटा सिलिन्डर उपभोक्ताको हातमा पुगेका छन्।
नेपाल ग्यासको बिक्री सबैभन्दा धेरै
पाँच मुख्य बिक्री केन्द्रको तथ्यांकअनुसार नेपाल ग्यासका १ हजार ७ सय ६० सिलिन्डर बिक्री भएका छन्।
त्यस्तै एभरेस्ट/सुगम १ हजार ४३, एचपी ७ सय ८०, हिमाल ५ सय ४०, सगर ४ सय ६४ र श्रीरामका ३ सय २७ सिलिन्डर बिक्री भएका छन्।
एसटीसी ३ सय २०, श्री २ सय ८०, ओम १ सय ४०, भानु ८०, साईबाबा/श्रीकृष्ण ७०, श्रीमाया ६२, लोकप्रिय ५३ र सूर्य ब्रान्डका ५३ सिलिन्डर वितरण गरिएको छ।
तथ्यांकमा बिक्री, उपभोक्ता भने रित्तै
सरकारले एकै दिन करिब ७ हजार सिलिन्डर ग्यास बिक्री गरेको तथ्यांक सार्वजनिक गरे पनि धेरै उपभोक्ताले ग्यास नपाएको गुनासो गरेका छन्। एक महिनादेखि ग्यासको अभाव झेलिरहेका उपभोक्ताले बिक्री केन्द्रमा घण्टौँ लाइन बसेर पनि रित्तो हात फर्किनुपरेको बताएका छन्।
आयल निगमको सूूचना :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।