काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गरेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय बनाइएको केही समय नबित्दै फेरि नाम परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समाहित भएपछि मन्त्रालयको नामबाट ‘जनसंख्या’ हटाएर ‘खाद्य स्वच्छता’ राखिएको थियो। सोहीअनुसार नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरी स्वीकृत गरिएको थियो भने नयाँ संगठन संरचनाअनुसार दरबन्दी मिलानको कामसमेत अघि बढाइएको थियो।
तर, नयाँ अर्गानोग्रामअनुसार दरबन्दी मिलानको काम टुंगिन नपाउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई स्वास्थ्य मन्त्रालयबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सारिएको छ। सरकारले स्वीकृत गरेको कार्य विस्तृतीकरणमा समेत उक्त विभागलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत राखिएको उल्लेख भइसकेको मन्त्रालयले जनाएको छ। यससँगै हाल स्वीकृत संगठन संरचनालाई समेत परिवर्तन गर्नुपर्ने भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नै अर्को मन्त्रालयमा पुगेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय नाम कायम राख्नुको औचित्यमाथि प्रश्न उठेको छ। त्यससँगै मन्त्रालयको नयाँ नामबारे विभिन्न विकल्पमा छलफल सुरु मन्त्रालयका सहसचिव दिवस आचार्यले बताएका छन्।
मन्त्रालयभित्र भने फेरि नयाँ नाम राख्नुभन्दा पुरानै ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’ नाम कायम राख्नुपर्ने धारणा बलियो देखिएको उनको भनाइ छ। नयाँ नाममा अभ्यस्त भइनसकेको अवस्थामा पुरानै नामलाई निरन्तरता दिँदा सहज हुने धेरैको राय छ।
नयाँ ओएनएमअनुसार दरबन्दी मिलानको काम अघि बढिसकेको अवस्थामा फेरि मन्त्रालयको नाम र संगठन संरचना परिवर्तन गर्नुपर्ने भएपछि त्यसको प्रशासनिक तथा व्यवस्थापकीय असर पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।