कास्की– अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो।
अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमाना नयाँपुल–बिरेठाँटी सडकखण्डनजिक मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा बाढी पसेपछि तीन जना फसेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको रोप रेस्क्यु तथा गोताखोरसहितको सुरक्षा टोलीले नेपाल प्रहरीसँगको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरेको हो।
डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार गरिएकामा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई अन्नपूर्ण गाउँपालिका–८ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्त प्रसाद सिंह र मन्दिरका ५२ वर्षीय पुजारी निर्माण गिरी रहेका छन्।
गिरी भारतीय नागरिक रहेको र विगत पाँच वर्षदेखि उक्त मन्दिरमा पुजारीका रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ।
यसअघि बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल तथा मन्दिरको केही भागसमेत बगाएको थियो। घटनापछि आवश्यक विपद् उद्धार सामग्रीसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।