सुर्खेत– नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको उल्लासमय वातावरणलाई थप रंगीन बनाउने उद्देश्यसहित गायक तथा संगीतकार छत्र तारामी मगरको ‘एक एक जोड्दा दुई भाछ’ गीत सार्वजनिक भएको छ। छत्र तारामी मगर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले तीजको सांगीतिक माहोलमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।
गीतमा छत्र तरामी मगर र टिका पुनको सुमधुर स्वर रहेको छ । तीजको मौलिक स्वाद, नेपाली समाजको पारिवारिक आत्मीयता र सांस्कृतिक भावनालाई गीतका शब्दमार्फत जीवन्त बनाउने प्रयास गरिएको छ। गीतको शब्द तथा संगीत स्वयं छत्र तारामी मगरकै रहेको छ भने संगीत संयोजन याम थापा मगरले गरेका छन्। रेकर्डिङ रमेश खड्का र मिक्सिङ तथा मास्टरिङ बिनोद परियारले गरेका थिए।
गीतको म्युजिक भिडियो बिक्रम चौहानको निर्देशनमा तयार पारिएको हो। भिडियोमा अञ्जली अधिकारी र रेशम नेप्किङले आकर्षक अभिनयमार्फत तीजको रमाइलो परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। छायांकन प्रकाश खड्का एण्ड टिम, कलर ग्रेडिङ मिलन विश्वकर्मा, भिजुअल सम्पादन तथा पोस्टर डिजाइन लक्ष्मण चौहान र मेकअप यमुना पाण्डेले गरेका छन्।
सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षा गरिएको छ । शब्द, संगीत, स्वर र दृश्य संयोजनको सन्तुलित प्रस्तुतिका कारण गीतले तीज विशेष लोक तथा दोहोरी गीतको सूचीमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।