पेरिस, फ्रान्स – संयुक्त राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोले फ्रान्सकी पूर्व संस्कृतिमन्त्री ओड्रे आजुलेलाई नयाँ प्रमुखको रूपमा चयन गरेको छ।
यूनेस्को इजरायलप्रति ‘पूर्वाग्रही’ भएको भन्दै अमेरिकाले उक्त निकायबाट अलग हुने घोषणा गरेको एक दिनपछि नयाँ प्रमुखका रूपमा आजुले निर्वाचित भएका छन्।
युनेस्को प्रमुख चयन गर्न भएको दोस्रो चरणको मतदानमा मोरक्को मूलकी यहुदी आजुलेले आफ्ना प्रतिद्वन्द्वी कतारका पूर्व संस्कृतिमन्त्री हमाद बिन अब्दुल अजिज अल–कवारीलाई झिनो मत अन्तरले हराएका छन्।
अमेरिका र इजरायलले युनेस्कोबाट अलग हुने घोषणा गरेपछि उक्त निकायको प्रमुख चयन गर्ने कुरा छाँयामा परेको थियो ।
यसअघि अमेरिकाले युनेस्कोबाट अलग हुने घोषणा गरपछि यसको केही घण्टा नबित्दै इजरायलले आफू पनि उक्त निकायबाट बाहिरिने बताएको थियो।
युनेस्कोकी पूर्व प्रमुख इरिना बोकोभाले उक्त निकायबाट अमेरिका अलग हुनु ‘दुःखको विषय’ भएको बताएकी थिइन्।
युनेस्कोबाट अलग हुने अमेरिकी निर्णय सन् २०१८ को डिसेम्बर अन्त्यतिर कार्यान्वयनमा आउनेछ र त्यसअघिसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्यकै रुपमा रहिरहनेछ।
अमेरिका र इजरायलले युनेस्कोका केही निर्णयहरुलाई विरोध गर्दै आएको पृष्ठभूमिमा उनीहरुले पछिल्लो निर्णय गरेका हुन्।
युनेस्कोले सन् २०११ मा प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा अमेरिकाले उक्त निकायलाई दिंदै आएको सहायतामा कटौती गरेको थियो । रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।