काठमाडौँ – नाइजेरियाली सुरक्षा फौजले चालु जुलाई महिनामा देशका विभिन्न भागमा सञ्चालन गरेको सैन्य अभियानका क्रममा १०२ जना संदिग्ध आतंककारीहरू मारिएका छन् ।
उक्त कारबाहीमा वरिष्ठ कमान्डरहरूसहित ३ सय ४५ जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
राजधानी अबुजामा आयोजित मासिक पत्रकार सम्मेलनमा नाइजेरियाली सेनाका प्रवक्ता माइकल ओनोजाले अन्य सुरक्षा निकाय र स्थानीय स्वयंसेवक समूहको समन्वयमा यी कारबाहीहरू सम्पन्न गरिएको बताए । प्रवक्ता ओनोजाकाअनुसार यस अवधिमा ३९३ जना अपहरित व्यक्तिहरूको सफलतापूर्वक उद्धार गरिएको छ ।
‘यस महिना हामीले १०२ आतंककारीहरूलाई निष्कृय पारेका छौँ भने ३४५ आतंककारी र अपराधीहरूलाई पक्राउ गरेका छौँ ।’ ओनोजाले भने । उनले सैन्य दबाबका कारण ५७ जना विद्रोहीहरूले आत्मसमर्पण गरेको र कारबाहीका क्रममा ५९ थान हतियार तथा १ हजार ८११ राउन्ड गोली बरामद गरिएको समेत जानकारी दिए ।
यो सैन्य अभियान विशेषगरी आतंककारी, अपहरणकारी, सशस्त्र मिलिसिया र पृथकतावादी समूहहरू लक्षित रहेको बताइएको छ। देशको उत्तर–पूर्वी क्षेत्रमा सक्रिय बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स विरुद्ध सेनाले ठूलो सफलता हात पारेको छ । सोही क्रममा आइएसडब्ल्युएपीका मुख्य प्रचारक मानिने अबु सलिम अल–बरनवी समेत मारिएको सेनाले पुष्टि गरेको छ ।
यसैगरी, दक्षिणी नाइजेरियामा सेनाले आतंककारीहरूको बन्दोबस्तीका सामान आपूर्ति गर्ने सञ्जाल ध्वस्त पारेको छ भने तेल चोरीमा संलग्न संदिग्धहरूलाई समेत नियन्त्रणमा लिएको छ ।
नाइजेरिया लामो समयदेखि आतंकवाद, अपहरण, लुटपाट, सशस्त्र उग्रवाद, साना हतियारको अवैध विस्तार र किसान–चरवाहे बीचको द्वन्द्व जस्ता गम्भीर सुरक्षा चुनौतीहरूको सामना गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।