नयाँ दिल्ली– कक्रोज जनता पार्टीले शनिबार आफ्नो आन्दोलन अन्त्य गरेको छ। केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँगै पार्टीका प्रवक्ता सौरभ दास र आशुतोष रांकाले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलन समाप्त भएको घोषणा गरेका हुन्। सौरभ दासले जंतर-मंतरमा रहेका सबै प्रदर्शनकारीलाई अब आफ्ना घर फर्किन आग्रह गरे।
आशुतोष रांकाले पछिल्ला केही दिनमा सरकारसँग तीन पटक वार्ता भएको र आफ्ना तीनवटै माग पूरा भएको बताए। उनका अनुसार धर्मेन्द्र प्रधानको राजीनामा, आन्दोलनका क्रममा दर्ता भएका सबै मुद्दा फिर्ता लिनु तथा नीट परीक्षाबाट पीडित विद्यार्थीलाई जनही १ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने माग सरकारले स्वीकार गरेको छ।
यसअघि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको खबर सार्वजनिक भएपछि जंतर-मंतरमा उत्सवको माहोल बनेको थियो। विद्यार्थीहरूले "विद्यार्थी एकता जिन्दाबाद" भन्ने नाराबाजी गरेका थिए र राष्ट्रगान पनि गाएका थिए। साथै, नीट प्रश्नपत्र चुहावट प्रकरणपछि ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा दुई मिनेट मौन धारण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।