काठमाडौं– भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले शनिबार राजीनामा दिएपछि ककरोच जनता पार्टी (सीजेपी) ले यस कदमलाई विद्यार्थी आन्दोलनको जितका रूपमा मनाएको छ। सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट सेयर गर्दै उक्त पार्टीले लेखेको छ, ‘विद्यार्थी शक्ति अमर रहोस्।’
खास गरी निट-युजी प्रश्नपत्र बाहिरिएको र परीक्षामा देखिएको अनियमिततालाई लिएर उनको राजीनामा माग्दै दिल्लीमा हप्तौँदेखि भइरहेको विशाल विद्यार्थी प्रदर्शनपछि प्रधानले शनिबार राजीनामा दिएका हुन्।
राजीनामाको घोषणालगत्तै जन्तर-मन्तरस्थित आन्दोलन स्थलमा खुसीयाली छाएको छ। उक्त स्थलको एउटा भिडियोमा विद्यार्थीहरूले दीपकेसँगै मिलेर यस निर्णयको उत्सव मनाइरहेको देखिएको छ।
देशका युवाहरूलाई सम्बोधन गर्दै एक्समा हिन्दी भाषामा लेखिएको पत्र पोस्ट गर्दै प्रधानले सरकारको कदमको बचाउ गरेका छन्। उनले मेडिकल प्रवेश परीक्षालाई लिएर भएका गतिविधिहरूबारे नैतिक जिम्मेवारी लिइरहेको बताएका छन्। प्रधानले लेखेका छन्, ‘पहिलो दिनदेखि नै मैले जिम्मेवारी स्वीकार गरेँ र यो स्थितिबाट कहिल्यै भागिनँ।’
सन् २०२६ मे ३ मा सञ्चालन भएको निट-युजी परीक्षामा अनियमितता भेटिने बित्तिकै नरेन्द्र मोदी सरकारले तुरुन्तै अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई सुम्पेको, परीक्षा रद्द गरेको र नयाँ परीक्षाको घोषणा गरी सम्पन्न गराएको उनले बताएका छन्। जुन २१ मा पुन: लिइएको परीक्षा केन्द्र, राज्य सरकार र जिल्ला प्रशासन सम्मिलित भई सरकारको एकीकृत प्रयासबाट सफलतापूर्वक सम्पन्न भएको पूर्वमन्त्रीको भनाइ छ।
यसै क्रममा जिम्मेवार पदमा बसेका व्यक्तिहरूले विवादका क्रममा विद्यार्थीलाई भ्रममा पार्ने प्रयास गरेको भन्दै उनले आरोप लगाएका छन्। ती प्रयासहरूले आफूलाई गहिरो चोट पुर्याएको उनले उल्लेख गरेका छन्। उनले कुनै व्यक्ति वा संस्थाको नाम नलिए पनि पछिल्ला केही दिनमा विपक्षी दलका नेता राहुल गान्धीमाथि लगातार आक्रमण गर्दै आएका थिए।
पछिल्ला १० दिनका घटनाले आफूलाई दुःखी बनाएको भन्दै प्रधानले यो विषय आफ्नो व्यक्तिगत प्रतिष्ठाको नभएको स्पष्ट पारेका छन्। यसको सट्टा विद्यार्थीको सुरक्षा र राष्ट्रिय एकताको रक्षाका लागि आफूले यो निर्णय लिएको उनले बताएका छन्।
उनले लेखेका छन्, ‘जन्तर-मन्तर र देशभर उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै, अराष्ट्रिय तत्त्वहरूले यसको फाइदा नलऊन्, देशको एकता अक्षुण्ण रहोस्, कुनै पनि विद्यार्थीको भविष्य कानुनी उल्झनमा नफसोस् र हाम्रा बालबालिकाले आफ्नो समय पढाइ तथा करिअर निर्माणमा लगाउन सकून् भनेर मैले सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गरेको छु।’ युवाहरूलाई भ्रामक सूचना र भ्रमको जालमा फस्न दिन नहुने उनले बताएका छन्।
प्रधानले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन्। विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै आफूले यो निर्णय लिएको उनले बताएका छन्।
उनको पत्रमा लेखिएको छ, ‘जन्तर-मन्तर र देशभर उत्पन्न परिस्थितिको फाइदा राष्ट्रविरोधी तत्त्वहरूले उठाउन नसकून्, राष्ट्र एकजुट रहोस्, भारतका विद्यार्थीहरू कानुनी झमेलामा नपरी आफ्नो अध्ययन र करिअरमा केन्द्रित होऊन् भनेर मैले प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गरेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।