काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उपमन्त्री यान नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुनेछन्। मंगलबार बस्ने द्विपक्षीय बैठकमा नेपालको तर्फबाट अर्थ सचिव र चीनको तर्फबाट उपमन्त्री यानले नेतृत्व गर्ने कार्यक्रम छ।
बैठकमा दुई देशबीचको व्यापार, आर्थिक तथा प्राविधिक सहयोग, कनेक्टिभिटी र सडक सञ्जाल विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा उपमन्त्री यानले अर्थमन्त्री स्वर्णिम वाग्लेसहित उच्च सरकारी अधिकारीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ। यसैबीच, भ्रमणको समय संवेदनशील अन्तर्राष्ट्रिय तथा कूटनीतिक प्रसङ्गसँग जोडिएको भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको स्रोतले जनाएको छ।
सोही समयमा एसियाली विकास बैंक (ADB) का चेयरम्यान मासात्सुगु कान्डा पनि नेपाल आउँदै छन्। उनीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भेट गर्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेट भएमा कान्डाको यो पहिलो उच्चस्तरीय एकल भेट हुनेछ।
सरकारी निकायहरूका अनुसार अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच भेटघाटको समन्वय भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।