एजेन्सी– भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ मात्र ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका छन्।
अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार यो शृङ्खलाबद्ध भूकम्पीय गतिविधिमा ७.५ म्याग्निच्युडको मुख्य भुइँचालो गएको हो।
सुरुमा ७.२ म्याग्निच्युडको भूकम्प गएको भनिए तापनि भूकम्पीय तथ्याङ्कहरूको विस्तृत विश्लेषणपछि अधिकारीहरूले त्यसलाई परिमार्जन गर्दै ७.५ म्याग्निच्युडको मुख्य भूकम्प जानुअघिको पूर्वकम्पका रूपमा वर्गीकरण गरेका छन्।
अमेरिकी सुनामी चेतावनी केन्द्रले यस घटनालाई ‘सेस्मिक डब्लेट’ भनी व्याख्या गरेको छ। यो यस्तो प्राकृतिक दृश्य वा घटना हो जहाँ छोटो समय र सेकेण्डकै अन्तरालमा एउटै क्षेत्रमा दुईवटा ठूला भूकम्प जान्छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक मूल्याङ्कनअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ३० प्रतिशत रहेको जनाइएको छ ।
सयौँ भवनहरू भत्किएको तथा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
सरकारले अहिलेसम्म मृत्यु हुनेको संख्या सार्वजनिक गरेको छैन।
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा ज्यान गुमाउनेहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले मृत्यु हुनेको संख्या खुलाएनन्, तर उनले भने कि सरकार राहत र उद्धार कार्यमा पूर्ण रूपमा संलग्न छ।
राष्ट्रपतिका अनुसार भूकम्पमा विमानस्थल क्षतिग्रस्त भएको थियो र सुरक्षा कारणले गर्दा हाललाई बन्द गरिएको छ। रोड्रिगेजले संयुक्त राज्य अमेरिकासहित धेरै देशहरूले भेनेजुएलालाई सम्पर्क गरेर समवेदना व्यक्त गरेको र सबै सम्भावित सहयोगको आश्वासन दिएको पनि बताए ।
राष्ट्रपतिले आपतकालीन अवस्था घोषणा गरे
राष्ट्रपति रोड्रिगेजले देशभर राष्ट्रिय आपतकालीन अवस्था घोषणा गरेका छन् । उनले डाक्टर र नर्सहरूलाई तुरुन्तै अस्पताल पुग्न र घाइतेहरूको उपचार शुरू गर्न आग्रह गरेका छन् ।
उनले अर्को सूचना नभएसम्म काराकास नजिकैको मैकेतिया अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने घोषणा पनि उनले गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।