झारखण्ड (एजेन्सी) : काजु खाने वा ख्वाउने कुरा गर्नासाथै आम रुपमा मानिसहरु खल्ती कत्तिको गह्रौं छ भनेर विचार्न थाल्छन् । यस्तो स्थितिमा कसैले काजुको मूल्य आलु-प्याजभन्दा सस्तो पाइन्छ भन्ने कुरा गर्दा हामीलाई पत्यार नलाग्न सक्छ । तर, यो कुरा साँचो हो।
भारतको झारखन्ड राज्यस्थित जामताडाको नाला क्षेत्रमा काजु निकै सस्तोमा पाइन्छ । त्यहाँ ४९ एकड क्षेत्रमा काजुको बगान छ । काजुको खेतीबाट फाइदा देखेपछि त्यस क्षेत्रका धेरै मानिसमा यसतर्फ झुकाव बढ्दै गएको छ।
काजु बगानको रोचक कहानी
जामताडामा काजुको यति ठूलो खेती केही वर्षकै मिहिनेतले सुरु भएको हो । काजु खेती सुरु हुनुको पछाडि किंवदन्ती जस्तै रोचक कहानी छ।
त्यस क्षेत्रका बासिन्दाले बताए अनुसार जामताडाका पूर्व डेपुटी कमिश्नर कृपानन्द झालाई काजु अत्यन्त मन पर्थ्यो । यसै कारण उनी जामताडामा काजु कगान बनोस् भन्ने चाहन्थे । बगान बनेर ताजा र सस्तो काजु खान पाइन्थ्यो भन्ने उनको सोच थियो।
त्यही सोचले कृपानन्दले उडिसामा काजु खेती गर्नेहरुसँग भेटे । उनले जामताडामा काजु खेती गर्न उपयुक्त भौगोलिक स्थिति छ कि छैन भनेर कृषि वैज्ञानिकहरुसँग पनि बुझे । त्यसपछि त्यहाँ काजुको बागवानी सुरु गरियो । हेर्दाहेर्दै केही वर्षमै त्यहाँ ठूलो क्षेत्रफलमा काजुको खेती हुन थाल्यो।
कृपानन्द जामताडाबाट सरुवा भएर गएपछि निमाई चन्द्र घोष एन्ड कम्पनीलाई तीन लाख भारुमा तीन वर्षका लागि बगानको रेखदेख गर्ने जिम्मा लगाइएको थियो । तर, पछिल्लो समय बगानको उचित रेखदेख हुन सकेको छैन । बगानमा हरेक वर्ष हजारौं क्विन्टल काजु फल्छ । स्थानीय र बगानको बाटो भएर हिँड्नेहरुले काजु टिपेर लैजाने गर्छन्।
काजुको बागवानीमा जुटेका किसानले कैयौं पटक राज्य सरकारसँग फसलको सुरक्षा गर्न माग गरे पनि त्यसमा उचित सम्बोधन भएन । पछिल्लो वर्ष सरकारले नाला क्षेत्रमा एक सय हेक्टर क्षेत्रफलमा काजुको विरुवा रोप्ने बताएको छ।
सरकारले त्यस क्षेत्रका किसानको अवस्था सुधार्न काजुको बागवानी बढाउँदै उनीहरुलाई उचित रकम दिलाउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।