काठमाडौं– पश्चिम बंगाल प्रहरीको विशेष टास्क फोर्सले सोमबार तृणमूल कांग्रेसका नेता जहांगीर खानलाई पक्राउ गरेको छ । उनलाई नेपाली सीमा नजिकबाट पक्राउ गरिएको हो ।
पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फालता प्रहरी चौकीमा खानविरुद्ध ७ वटा उजुरी दर्ता गरिएका थिए । उनी नेपाल भाग्ने तयारीमा रहेका थिए । तर नेपालको सीमा नजिकबाट पक्राउ परेका उनलाई कोलकाता ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार जहांगीरलाई अवैध असुली गरेको आरोपमा पक्राउ गरिएको छ । साथै केही मिडिया रिपोर्टहरुमा जहाँगीरका समर्थकले महिलामाथि सामूहिक बलात्कार गर्ने धम्कीसमेत दिएका थिए । सोही कारण उनलाई पक्राउ गरिएको बताइएको छ । जहांगीरले सन् २०२६ को विधानसभा चुनाव फालता सिटबाट लडेका थिए ।
चुनावमा गडबढी भएपछि यहाँ २१ मे मा फेरि मतदान भएको थियो । चुनावभन्दा ४८ घन्टाअघि नै जहाँगीरले चुनावी मैदान छाड्दै आफ्नो नाम फिर्ता लिएका थिए ।
२४ मे मा आएको नतिजामा जहांगीरको हार भएको थियो । त्यसयता उनी फरार थिए । उनी घर र पार्टी कार्यालय दुवै ठाउँमा देखिएका थिएनन् । १९ मे मा उनलाई अन्तिम पटक देखिएको थियो । पत्रकार सम्मेलनमा उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका थिए । आफूविरुद्ध दायर भएका निवेदनविरुद्ध उनी उच्च अदालत गएका थिए ।
कलकत्ता उच्च अदालतमा निवेदन दिँदै आफूविरुद्धका मुद्दाहरुबारे जानकारी दिँदै पक्राउविरुद्ध संरक्षणको माग गरेका थिए । आफूविरुद्ध लगातार अपराधिक विषयमा निवेदन दिने काम भइरहेको आरोप लगाएका थिए ।
जहांगीरविरुद्ध २०१९ मा दर्ता भएको एक मुद्दा र फालता री–पोल अघि उच्च अदालतले सुरक्षा दिएको थियो । तर २६ मे मा सबै सुरक्षा फिर्ता लिएको थियो । उनले चुनावमा पुष्पा स्टाइलको छवि बनाएका थिए ।
चुनावी प्रचारमा उनले आफूलाई फिल्म ‘पुष्पा’का अभिनेताजस्तै प्रस्तुत गरेका थिए । कैयौंपटक उनले चर्चित डायलग‘पुष्पा झुकेगा नही साला’ पनि बोलेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।