वासिङ्टन डीसी– अमेरिकाको वासिङ्टन डीसीस्थित राष्ट्रपति निवास 'ह्वाइट हाउस' बाहिर शनिबार साँझ एक संदिग्ध व्यक्तिले सेक्रेट सर्भिसका एजेन्टहरूमाथि गोली प्रहार गरेका छन्।
सुरक्षाकर्मीको जवाफी कारबाहीमा ती संदिग्ध व्यक्तिको मृत्यु भएको छ।
सेक्रेट सर्भिसका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेतिर १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अचानक गोली चलाउन सुरु गरेका थिए।
एजेन्टहरूले तुरुन्तै जवाफी कारबाही गर्दा गोली लागेर ती संदिग्ध घाइते भएका थिए। उनलाई तत्काल अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषित गरे।
उक्त गोली हानाहानको घटनामा एक बटुवा समेत घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको बताइएको छ। सुरक्षा निकायका तर्फबाट भने कोही पनि घाइते भएका छैनन्।
घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस भित्रै रहे पनि उनी पूर्ण रूपमा सुरक्षित रहेको र सुरक्षा कारबाहीमा कुनै बाधा नपुगेको सेक्रेट सर्भिसले जनाएको छ। घटनालगत्तै ह्वाइट हाउसलाई केही समयका लागि 'लकडाउन' गरिएको थियो।
प्रत्यक्षदर्शी पत्रकारहरूका अनुसार करिब १५ देखि ३० राउन्ड गोली चलेको आवाज सुनिएको थियो। गोली चल्न थालेपछि ह्वाइट हाउसमा रहेका पत्रकारहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। एफबीआई र सेक्रेट सर्भिसले यस घटनाबारे थप अनुसन्धान गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।