एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्तुत गरेको १४ बुँदे शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । साथै, इरानले ‘गलत व्यवहार’ गरेमा पुनः हवाई आक्रमण सुरु हुन सक्ने चेतावनी दिएका छन् ।
फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त प्रस्तावबारे जानकारी पाएको पुष्टि गरे । ७ अप्रिलमा युद्धविराम घोषणा भएपछि हाल तनाव रोकिएको भए पनि आवश्यक परे पुनः आक्रमण हुन सक्ने उनले संकेत गरेको अल जजिराले जनाएको छ ।
ट्रम्पका अनुसार लामो द्वन्द्व र नाकाबन्दीका कारण इरान कमजोर बनेको छ र सम्झौताका लागि दबाबमा छ । उनले सामाजिक सञ्जालमार्फत इरानले अझै पर्याप्त ‘मूल्य चुकाएको छैन’ भन्दै प्रस्ताव स्वीकार्य हुन गाह्रो रहेको उल्लेख गरे ।
इरानको प्रस्तावमा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, युद्ध क्षतिपूर्ति दिने र रोक्का गरिएका सम्पत्ति फुकुवा गर्ने माग समावेश छन् । साथै, ३० दिनभित्र शान्ति सम्झौता टुंग्याउने प्रस्ताव पनि राखिएको छ, जुन अमेरिकाको दीर्घकालीन समयसीमाभन्दा फरक छ ।
युद्धविराम जारी रहे पनि इरानी रिभोल्युसनरी गार्डले सम्भावित द्वन्द्वका लागि तयारी अवस्थामा रहेको जनाएको छ । यसैबीच, ट्रम्पले नाकाबन्दीलाई नाफामूलक व्यवसाय भनेपछि तनाव अझ बढेको छ, जसलाई इरानले समुद्री डकैतीको स्वीकारोक्ति भन्दै आलोचना गरेको छ ।
स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनका प्राविधिक चुनौती र जर्मनीबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयले पनि अवस्था जटिल बनेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।