एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको अवहेलनाले विश्वव्यापी विश्वास घट्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय अदालतले जारी गरेको फैसला पालना गर्नु संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गतको बाध्यकारी दायित्व भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय अदालतको ८० औँ वार्षिकोत्सवको अवसरमा जारी वक्तव्यमा गुटेरेसले विगत आठ दशकमा आधुनिक अन्तर्राष्ट्रिय न्यायीक व्यवस्थालाई आकार दिन अदालतले केन्द्रीय भूमिका खेलेको बताए ।
अदालतको अधिकार र स्वतन्त्रता बारे उल्लेख गर्दै उनले विवादको शान्तिपूर्ण समाधान र निर्णयको पालनाको लागि नयाँ प्रतिबद्धताको आवश्यकतालाई जोड दिए।
गुटेरेसले सशस्त्र द्वन्द्व वढाउने, नियमहरू उल्लङ्घन गर्ने सैन्य कार्यहरू, साथै संयुक्त राष्ट्र सङ्घको मानवीय दायित्व र सुरक्षा कायम गर्ने असफलताहरूलाई औंल्याउँदै अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन तिव्र रुपमा भएको बताए । यसै बीच न्याय कायम राख्ने जिम्मेवारी दिइएको संस्थाहरूले बढ्दो शङ्का र चुनौतिहरूको सामना गरिरहेको उनले चेतावनी दिए ।
उनले विधिको शासनलाई बलको कानूनले प्रतिस्थापन गर्ने प्रयास गर्दा द्वन्द्व वढी विश्वव्यापी अस्थिरता उत्पन्न हुने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।