एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास असफल भएपछि इरानमाथि नौसैनिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् ।
उपराष्ट्रपति जेडी भान्स नेतृत्वको वार्ता टोलीले पाकिस्तानको इस्लामाबादमा २१ घण्टा लामो वार्ता गरे पनि सहमति जुट्न सकेको थिएन ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानतर्फ जाने जहाजहरूलाई रोक्ने, स्ट्रेट अफ होर्मुजमा बारुदी सुरुङ हटाउने र आवश्यक परे पुनः सैन्य आक्रमण गर्न अमेरिका तयार रहेको बताएका छन् । तर, इरानले आफ्नो परमाणु कार्यक्रम त्याग्न अस्वीकार गरेको उनले दाबी गरेका छन् ।
यस कदमले नयाँ जोखिमहरू सिर्जना गरेको छ । अमेरिकी युद्धपोतहरू इरानी आक्रमणको निशानामा पर्ने सम्भावना, विदेशी जहाजमाथि बल प्रयोगको प्रश्न र चीनजस्ता इरानी तेलमा निर्भर देशहरूको प्रतिक्रिया अझै अनिश्चित छन् । साथै, यसले विश्व बजारमा तेलको मूल्य थप बढ्न सक्ने चिन्ता पनि बढाएको छ ।
यसैबीच, अमेरिकी संसदका केही सदस्यहरूले नाकाबन्दीको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । सर्वेक्षणअनुसार अधिकांश अमेरिकी नागरिक युद्धको अवस्थालाई नकारात्मक रूपमा हेरिरहेका छन् ।
युद्ध दोस्रो महिनामा प्रवेश गर्दा र अस्थायी युद्धविराम कमजोर बन्दै जाँदा, स्थिति अझ जटिल बनेको छ । यो द्वन्द्व अब इरानको सहनशीलता र ट्रम्प प्रशासनको राजनीतिक तथा आर्थिक दबाब झेल्ने क्षमताबीचको परीक्षा बनेको छ । विश्लेषकहरूका अनुसार यो संघर्ष लम्बिँदै जाँदा सबैपक्षलाई क्षति पुग्ने सम्भावना उच्च छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।