काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मन्त्रिपरिषद्लाई लेबननसँग सकेसम्म चाँडो प्रत्यक्ष वार्ता गर्न निर्देशन दिइएको बताएका छन्।
एक्समा हिब्रु भाषामा पोस्ट गरिएको विज्ञप्तिमा लेबननले वार्ता सुरु गर्न बारम्बार र निरन्तर अपिल गरेको दाबी गर्दै आफ्नो मन्त्रिपरिषद्लाई यसमा अगाडि बढ्न भनिएको नेतन्याहुले उल्लेख गरेका छन्।
उनले वार्ताको केन्द्रबिन्दु हेजबुल्लाहको निःशस्त्रीकरण र इजरायल र लेबननबीच शान्ति सम्बन्ध स्थापना हुने बताएका छन्।
अमेरिका–इरान युद्धविरामपछि पनि इजरायलले लेबननमा हवाई हमला जारी राखेका बेला यो समाचार आएको हो।
मंगलबार राति अमेरिका र इरानबिच २ साता युद्धविराम गर्ने सहमति भइसक्दा पनि बुधबार इजरायलले लेबननमा भीषण हवाई आक्रमण गरेको थियो। जसमा परी २ सयभन्दा बढी मानिस मारिएका छन् भने हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्।
जसले गर्दा अहिले अमेरिका र इरानबिच युद्धविराम सम्झौतामा लेबननमा पनि आक्रमण रोक्ने कुरा छ कि छैन भन्ने विषयमा विवाद भइरहेको छ।
इरानले सम्झौतामा लेबननमा पनि हमला नगर्ने कुरा रहेको जिकिर गरिरहँदा अमेरिकाले भने यो कुरा समावेश नगरिएको दाबी गरिरहेको छ।
त्यसो त युद्धविरामका लागि मध्यस्थता गर्ने पाकिस्तानले बुधबार नै लेबननमा पनि युद्ध रोक्ने कुरा रहेको बताएको थियो। तर, इजरायलले युद्धविराम लेबननमा लागु नहुने स्पष्ट पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।