वासिङ्टन डिसी – अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम भएको छ ।
मेहर न्युज एजेन्सीका अनुसार इरानको सर्वोच्च सुरक्षा परिषदले अमेरिकासँग दुई साताको युद्धविराम भएको पुष्टि गरेको छ । पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिका युद्धविरामको निष्कर्षमा पुगेका हुन् ।
विज्ञप्तिमा इरानका सर्वोच्च नेता मोजतबा खामेनेईको अनुमतिपछि युद्धविराम भएको हो । यसलाई इरानले आफ्नो जितका रूपमा व्याख्या गरेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सभ्यता नै फेरि कहिल्यै नफर्किने गरी समाप्त पारिदिने धम्की दिएका थिए ।
युद्धविराको सहमतिसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि २ साताका लागि हमला रोकेको घोषणा गरेका छन् ।
उनले ट्रुथ सोसलमा लेख्दै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनिरको अपिलपछि इरानमाथि हमलाको निर्णय रोकेको बताएका छन्।
मंगलबार मात्रै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत यो दुईतर्फी युद्धविराम भएको जानकारी दिँदै अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेको दाबी गरेका छन्। उनले इरानसँग दीर्घकालीन शान्तिका लागि निश्चित सम्झौताको नजिक पुगेको समेत बताएका छन्।
६ हप्तादेखि जारी यस युद्धमा अहिलेसम्म करिब ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, जसमा इरानका १ हजार ६ सय सर्वसाधारण समावेश छन्। इजरायलले पनि यो युद्धविराममा सहमति जनाउँदै इरानमाथिको बमबारी अभियान स्थगित गर्ने पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।