काठमाडौं– सभामुख डिपी अर्यालले दलगत सहभागिताका आधारमा संसदमा कसैलाई पनि भेदभाव नहुने बताएका छन्।
सभामुख पदमा निर्वाचित भएका अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गरेको पहिलो बैठकमा सभामुख पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता समेत जनाएका छन्।
'संसदमा सबै सदस्यदहरूको भूमिका बराबर हुन्छ र हुन पर्दछ, यहाँहरू जनताको प्रतिनिधित्व गरेर आउनु भएकोले कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन भन्ने स्पष्ट पार्दछु,' अर्यालले भने, 'सत्तापक्षको गुण र दोषको आधारमा प्रतिपक्षले भूमिका निर्वाह गर्ने हुँदा समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सबैको बराबरी भूमिका रहने हुन्छ।'
अर्यालले संविधान र प्रचलित कानूनको अधिनमा रहि राजनीतिक दलहरुसंगको आपसी सहयोग र समन्वयको आधारमा अघि बढ्ने समेत प्रतिवद्धता जनाएका छन्।
'म राजनीतिक दलमा आबद्ध भएर नै निर्वाचित प्रतिनिधिसभा सदस्यको हैसियतमा सभामुख पदको जिम्मेवारीमा आइपुगेको हुँ,' अर्यालले भने, 'विगतमा राजनीतिक दलमा सहभागी भएकै कारण यस गरिमामय सभाको मर्यादा र आँचमा कुनै कमी हुन दिने छैन। सभामुख निष्पक्ष र स्वतन्त्र भए मात्र यस गरिमामय सभा र सदस्यहरूको ओझ बढ्दछ भन्ने कुरामा म विश्वास दिलाउँछु। संख्याकै आधारमा कुनै भेदभाव हुँदैन र हुने छैन पनि।'
सभामुख अर्यालले नयाँ कानुन निर्माण गर्नुभन्दा पहिला हाल विद्यमान ऐन कानूनको गम्भीर समीक्षा र पुनरावलोकन गर्नुपर्ने र कतिपय कानुन खारेज गर्ने विषयमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।