काठमाडौं– नेपाली कांग्रेसले आगामी वैशाखदेखि 'एक महिने जरा अभियान' सञ्चालन गर्ने भएकाे छ । कांग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी 'एक महिने जरा अभियान' सञ्चालन गर्न लागेकाे हाे ।
कांग्रेसले १५औँ महाधिवेशनका लागि जरा अभियान अन्तर्गत निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि शनिबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरेको हो ।
१ वैशाख २०८३ देखि एक महिने जरा अभियान सञ्चालन गर्ने र त्यस अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवाहरुसँग र पार्टी बाहिरका शुभेच्छुकहरुसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गर्ने कांग्रेसले जनाएकाे छ ।
यस्तै, सामाजिक र सिर्जनात्मक अभियान सञ्चालन गर्ने तथा स्थानीय सरकार संचालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्नु जरा अभियानको उद्देश्य रहेको पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । यसका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिसकेकाे उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।