काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताएका छन् ।
शनिबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको बताए ।
डा कोइरालाले आफू पक्ष वा विपक्षभन्दा पनि कांग्रेसलाई एकढिक्का बनाउने पक्षमा रहेको जिकिर गरे । '
मलाई सामाजिक सञ्जालमा यो वा त्यो पक्षको भनेर प्रचार गरेको सुनेको छु, तर म पार्टीको कुनै समूहमा छैन । मेरो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने हो, त्यसका लागि म अन्तिमसम्म प्रयास गर्छु,' उनले भने।
नेता डा कोइरालाले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताले पार्टी नछोडी मत मात्रै फेरेको भन्दै आगामी दिनमा त्यो भोटलाई ‘सिफ्ट’ हुन नदिने गरी क्रियाशील हुनुपर्नेमा जोड दिए ।
उनले संसदमा कांग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक ‘हावाहुरी’ लाई बुझ्न नसक्नु मुख्य कारण भएको उल्लेख गरे ।
बीपी स्मृति अस्पतालका संस्थापक अध्यक्षसमेत रहेका उनले बीपी कोइरालाको नाममा खोलिएको यस अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूले विशेष योगदान दिनसक्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।