काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुखमा निर्विराेध चयन भएका छन् ।
नेकपा एमालेले उम्मेदवारी नदिने भएपछि रास्वपाका अर्याल निर्विराेध चयन भएका हुन् ।
शुक्रबार उनले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो ।
सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । त्यो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई समर्थक राखेर अर्यालले उम्मेदवारी दर्ता गराएका प्रवक्ता गिरीले जानकारी दिए।
मनोनयन दर्तापछि अर्याललाई सभापति लामिछानेले अंकमाल गरेर बधाई दिएका थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित थियो ।
उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।