काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानूनको परिधिभित्र रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्यालले आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने बताएका हुन्।
अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने धारणा राखे।
‘त्यो जिम्मेवारीमा पुगेँ भने नेपालको संविधान, नेपालको कानून, नेपाली जनताको हितमा, यो राष्ट्र र राष्ट्रियताको हितमा व्यवस्थापकीय जुन हाम्रो व्यवस्थापिका छ, हामी कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जुन विषय छ, त्यसमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्यायसम्मत मैले गर्नेछु’, उनले भने।
सभामुखको निर्वाचन प्रक्रिया अघि बढिरहेको सन्दर्भमा रास्वपाले आफ्नो तर्फबाट उपसभापति अर्याललाई अघि सारेको हो। अर्यालले आफ्नो कार्यकालमा व्यवस्थापकीय कार्यहरुलाई पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता समेत दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।