काठमाडौँ– सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे पुल निर्माणका लागि श्रमदान अभियान सुरु गर्ने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत आह्वान गर्दै धरानबाट ५० जना श्रमदाताको टोली तयार गर्न उर्दी जारी गरेका हुन्।
धरान उपमहानगरपालिकाका पूर्वप्रमुख रहेका साम्पाङले सार्वजनिक गरेको सन्देशमा बोलेपछि काम गरेरै छाड्नुपर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै जीवनलाई प्रतिज्ञा र परीक्षा दुवैको रूपमा व्याख्या गरेका छन्। दार्चुलामा तुइन विस्थापन गरी सुरक्षित आवागमन सुनिश्चित गर्न श्रमदानमार्फत झोलुंगे पुल निर्माण गर्ने योजना अघि सारिएको उनले उल्लेख गरेका छन्।
उनले उक्त अभियानमा सहभागी हुने श्रमदाताका लागि बस सेवा नि:शुल्क उपलब्ध गराइने जानकारी दिएका छन्। खानाको व्यवस्था भने श्रमदाताबीच बाँडी चुँडी गर्ने र श्रम तथा कठिनाइ साझा रूपमा वहन गर्ने उनको भनाइ छ।
साम्पाङले सहभागीहरूलाई आफ्ना लुगा–कपडा आफैँ बोकेर आउन तथा आवश्यक औजार समेत साथमा ल्याउन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।