काठमाडौं – प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।
संघीय संसद्को पहिलो अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ, र राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्। पहिलो बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने तय भएको छ।
बुधबार संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्। कार्यसूचीअनुसार बैठकको प्रारम्भमा ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने छन्।
त्यसपछि राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि सभामा प्रस्तुत गरिनेछ। बैठकमा तीन वटा अध्यादेश पेश गर्ने कार्यक्रम छ, जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ समावेश छन्।
यसका साथै दलीय आधारमा सांसदहरूले आफ्ना मन्तव्य राख्ने कार्यक्रम पनि रहेको छ। सभामुख पदको निर्वाचनका लागि मिति निर्धारण गर्ने विषय पनि सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।