काठमाडौं– नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले गलत ढंगले पक्राउ गरेको प्रतिक्रिया दिएको जनाएको छ।
कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि नै प्रश्न उठाए।
उनले भने, ‘कार्की आयोगको प्रतिवेदन अपूर्ण छ। त्यसमा पनि भदौ २३ र २४ गतेको घटनामा सरकारको व्यवहार चयनात्मक भयो। सरकारको यस्तो व्यवहार गलत छ। यसरी कानूनका प्रक्रिया समेत पालना नहुनाले न्याय पाउने प्रक्रियालाई नै गिजोल्ने देखिन्छ।’पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि शनिबार कांग्रेस प्रवक्ता देवराज चालिसेले पाँच बुँदे धारणा सार्वजनिक गर्दै सरकार उत्तेजनामा आउन नहुने बताएका छन् ।
‘भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजन लगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ,’ वक्तव्यमा भनिएको, ‘हामी प्रष्ट गर्न चाहान्छौँ– भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ ।’
दुवै दिनको घटनामा संलग्न जो सुकै भएपनि कारबाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने कांग्रेसको धारणा छ । ‘तर त्यो कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ,’ वक्तव्यमा भनिएको छ ।
‘यसमा सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानूनको शासन कमजोर हुनसक्छ, देश पुन: द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ,’ प्रवक्ता चालिसेद्वारा सार्वजनिक धारणामा भनिएको छ, ‘अत: यसतर्फ गम्भीर बन्न सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।