काठमाडौं– नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।
राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।
संसदीय दलहरूसँगको संवादको संयोजनको जिम्मेवारी अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ भने कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्टले पाएका छन् ।
संसदमा रहेका दलहरुसँग संवाद गरेर सामूहिक प्रतिवादको योजना बनाउने महासचिव शंकर पोखरेलले जानकारी दिए ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले ओली र लेखकलाई आज पक्राउ गरेको छ । लगत्तै पार्टी कार्यालय च्यासलमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा एमाले सचिवालयको आकस्मिक बैठक बसेको थियो । सोही बैठकले संसदमा रहेका र नरहेका दलसँग संवाद गर्ने र कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी बाँडफाँट गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।