काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सबै संरचनालाई आगामी महाधिवेशनतर्फ केन्द्रित हुन आग्रह गर्दै प्रक्रिया अघि बढाउन कुनै अवरोध नहुने स्पष्ट पारेका छन्।
मंगलबार नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछिको परिस्थितिलाई सामान्यीकृत गर्दै अबको संगठनात्मक प्राथमिकता नियमित महाधिवेशन रहेको धारणा राखेका हुन्।
उनका अनुसार विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व गठन भइसकेको र सोही आधारमा पार्टीले निर्वाचनमा सहभागिता जनाइसकेको सन्दर्भमा अब त्यसअघिको सहभागिता वा असहभागितालाई आधार बनाएर विभाजन सिर्जना गर्न नहुने उल्लेख गरे।
थापाले महाधिवेशन प्रक्रियामा सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कुनै पनि तहका नेताहरूलाई पूर्वाग्रहका आधारमा मूल्यांकन नगर्ने स्पष्ट पारे। उनले पार्टीभित्र समावेशी सहभागिता सुनिश्चित गर्दै आगामी संगठनात्मक गतिविधि सञ्चालन गरिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।