काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकारी कार्यसम्पादनमा मौसमसम्बन्धी सेवाको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेको छ।
विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अनिलकुमार सिन्हाले मौसमविद्हरूले नीति कार्यान्वयन र सार्वजनिक निर्णय प्रक्रियामा प्रभावकारी सहयोग पुर्याएको बताएका हुन्।
जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित उक्त कार्यक्रममा मन्त्री सिन्हाले विशेष गरी हालै सम्पन्न राष्ट्रिय निर्वाचनको सन्दर्भ उल्लेख गर्दै मौसम पूर्वानुमानको विश्वासयोग्य सूचनाले एकै चरणमा निर्वाचन सम्पन्न गर्न सहज भएको धारणा व्यक्त गरे। उनले मौसमसम्बन्धी प्राविधिक जनशक्तिको योगदानलाई पर्दा पछाडिको महत्वपूर्ण भूमिकासँग तुलना गरेका थिए।
स्रोतसाधन सीमित हुँदाहुँदै पनि मौसमसम्बन्धी अध्ययन, विश्लेषण र सूचनाको प्रवाहमा निरन्तर सक्रिय रहेको भन्दै उनले सम्बन्धित प्राविधिक जनशक्तिको सराहना गरे। साथै, मौसम सेवाको पहुँच अझ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहकार्य र अनुसन्धानलाई थप सुदृढ गर्दै नागरिकसम्म समयमै सूचना पुर्याउनेतर्फ सरकार प्रतिबद्ध रहेको उनले बताए।
मन्त्री सिन्हाले मौसम पूर्वानुमानसम्बन्धी जानकारीलाई स्थानीय भाषामार्फत समेत प्रसारण गर्नुपर्ने आवश्यकता औँल्याए। आफ्नो दीर्घ कानुनी अनुभवलाई उल्लेख गर्दै उनले विभागका कार्यसम्पादनमा देखिन सक्ने कानुनी जटिलता समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।