काठमाडौँ– लामो समयदेखि तदर्थवादमा अल्झिएको नेपाल विद्यार्थी संघले आगामी वैशाख २० र २१ गते आफ्नो १२ औँ महाधिवेशन गर्ने मिति तय गरेको छ।
नेविसंघ सभापति दुजाङ शेर्पाले पार्टी नेतृत्वले समयमै विधान उपलब्ध नगराउँदा महाधिवेशनमा ढिलो भएको बताएका हुन्।
शेर्पाका अनुसार ३२ वर्षे उमेर हदबन्दी लागू भएपछि महाधिवेशनको म्याण्डेट पाएको वर्तमान कमिटीले विधान परिमार्जन गरी पार्टीलाई बुझाएको एक वर्ष हुन लाग्दा पनि पार्टीले त्यो विधान फिर्ता दिएको छैन। यदि विधान समयमै पाएको भए सेप्टेम्बर ८ भन्दा अगाडि नै महाधिवेशन भइसक्ने उनले बताए।
‘नेपाल विद्यार्थी संघको हामीले वैशाखको २०-२१ मा १२ औं महाधिवेशन पनि तोकेका छौँ। र तपाईंहरु को- को प्रतिनिधि जान इच्छुक हुनुहुन्छ साथीहरू यसलाई फेरि अब हामी अधिवेशनबाट भाग्ने छुट छैन’, उनले भने।
सभापति शेर्पाले आफूले कार्यकालको बीचमा पाँच पटकसम्म पार्टी नेतृत्वलाई राजीनामा बुझाएको तर नेतृत्वले ‘अधिवेशन गराएर मात्र छोड्नु’ भन्दै रोकेको बताए। उनले महाधिवेशन खर्चिलो हुने भ्रमलाई चिर्दै अत्यन्त कम खर्चमा भव्य अधिवेशन गर्ने योजना सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।