काठमाडौँ– विशेष अदालतले भ्रष्टाचारको आरोप खेपिरहेका काँग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आरोप अस्वीकार गरेकाले उनीसँग धरौटी मागेको जनाएको छ।
चालिसेमाथि ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लागेको छ। गत २८ मंसीरमा उनीमाथि मुद्दा दायर भएको थियो। उनी संसद्को अर्थ समितिका निवर्तमान सभापतिसमेत हुन्।
अख्तियारले दाबी गरेको छ कि उनले गोकर्णेश्वर नगरपालिकाका मेयर भएका बेला आर्जन गरेको सम्पत्ति विवरणमा वास्तविकता लुकाएर झुट्टा विवरण पेश गरेका थिए। कुल आठ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्तिमा चार करोड ८८ लाख मात्र वैध रहेको पाइएको छ। गैरकानुनी आर्जनको रकम ३ करोड ६८ लाख रुपैयाँ कायम गरिएको अख्तियारको दाबी छ।
सन्तोषसहित उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जीव तथा बुहारी प्रमीला पोखरेललाई सम्पत्ति जफत गर्न प्रतिवादी बनाइएको थियो। चालिसे जेठ २०७४ देखि गोकर्णेश्वर नगरपालिकाका मेयर थिए र मेयर कार्यकाल सकिएपछि प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ-३ बाट निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।