काठमाडौँ – इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्धको सैन्य कारबाहीलाई तीव्र पार्दै दक्षिण लेबनानका थप दर्जनौँ बस्ती र गाउँहरू खाली गर्न कडा आदेश जारी गरेको छ।
इजरायली सैन्य प्रवक्ता अविचाय अद्राईले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत थप ५० वटा गाउँ र बस्तीका बासिन्दाहरूलाई तत्काल घर छोड्न आग्रह गरेका हुन् । यसअघि सोमबार पनि इजरायलले ५२ वटा बस्ती खाली गर्न यस्तै आदेश दिएको थियो।
इजरायली सेनाले हिजबुल्लाहका गतिविधिहरूका कारण आफूहरू बलपूर्वक कारबाही गर्न बाध्य भएको बताएको छ।हाम्रो उद्देश्य तपाईँहरूलाई हानि पुऱ्याउने होइन, तर हिजबुल्लाहका अखडा नजिक बस्नु भनेको आफ्नो ज्यान जोखिममा राख्नु हो, आईडीएफले भनेको छ। बासिन्दाहरूलाई आ-आफ्नो गाउँबाट कम्तीमा १,००० मिटर (करिब ३,२८० फिट) टाढा रहन निर्देशन दिइएको छ।
सेनाले बेरुतको दक्षिणी उपनगर ‘हरेट ह्रेइकका लागि जारी गरिएको खाली गर्ने आदेशलाई पुन: दोहोऱ्याएको छ भने नजिकैको अर्को उपनगरका लागि पनि नयाँ चेतावनी जारी गरेको छ।
सन् २०२४ को नोभेम्बरमा अमेरिकाको मध्यस्थतामा युद्धविराम भएको भए तापनि, इजरायलले हिजबुल्लाहले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै निरन्तर आक्रमण गरिरहेको छ। यद्यपि, हिजबुल्लाहले भने यी आरोपहरूको खण्डन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।