सुस्ता– निर्वाचनको मुखैमा नेपाली कांग्रेस नवलपरासी (सुस्ता) भित्र गम्भीर राजनीतिक हलचल देखिएको छ । क्षेत्रीय प्रतिनिधि तथा सम्पूर्ण वडा कार्यसमिति सहित ३३ जनाले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।
उनीहरूले नेपाली कांग्रेस नवलपरासी (सुस्ता) का सभापतिलाई संयुक्त राजीनामा पत्र बुझाउँदै आफ्नो योगदानको कदर नभएको, कार्यकर्ताको मनोभाव नबुझिएको तथा अनावश्यक आरोप मात्र लगाइने वातावरण सिर्जना भएको आरोप लगाएका छन् ।
राजीनामा पत्रमा पार्टीका जिम्मेवार पदमा रहेका नेताहरूले कार्यकर्ताप्रति असहयोगी व्यवहार गरेको, पार्टीभित्र केही अराजक व्यक्तिहरूको हैकमवाद बढेको तथा निर्वाचन क्षेत्र नं. १ का संघीय सभापति मुकुल कुमार अर्चायले प्रलोभनमा परेर आफ्नै कार्यकर्तामाथि कारबाही गरेकोप्रति घोर आपत्ति जनाइएको उल्लेख छ ।
“उक्त व्यवहारले हामी सबैको मनमा ठेस पुगेको हुँदा नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी संयुक्त रूपमा राजीनामा पेस गरेका छौं,” पत्रमा भनिएको छ ।
राजीनामा दिनेहरूमा क्षेत्रीय प्रतिनिधि तथा पूर्व जिल्ला समन्वय समिति सदस्य कृष्णबहादुर थापा मगर, श्रीनिवास कुर्मी, सतिष चन्द्र कुर्मी, संजित कुर्मी लगायत तीन दर्जन नेता कार्यकर्ता रहेका छन् ।
पत्रको बोधार्थ वडा देखि जिल्ला कार्यसमितिसम्मलाई दिइएको छ । निर्वाचन हुन १० दिन मात्र बाँकी रहेको अवस्थामा पार्टीबाट तीन दर्जन नेताहरूको बहिर्गमनले स्थानीय तहमा नेपाली कांग्रेसलाई ठूलो राजनीतिक क्षति पुग्ने विश्लेषण गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।