काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन् ।
चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै उनले एमाले भने कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको बताए ।
‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौं । चुनाव स्थगित हुन पनि सक्छ अहिले पनि । हुन्छ भनेर पनि धेरै प्रयास भइराखेका छन् । हुन्छ भने होस् जेसुकै होस्, तर हामी नअलमलिकन चुनावको तयारीमा लाग्छौं । चुनावको विजयको तयारीमा लाग्छौं । हामीले जित्नै पर्छ । जित्ने तयारीमा लाग्छौं । अब हामीले कुनै अलमल गर्नु हुँदैन,’ ओलीको भनाइ छ ।
विगत ६ महिनासम्म आफूहरूले कोशिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको ओलीको भनाइ छ ।
‘६ महिना हामीले कोशिस गर्यौं । हामीले कोशिस गरिन्जेल कसैको घैंटोमा घाम लागेन । अब जब समय सिद्धियो त्यतिबेला अब चुनाव हुँदैन भनेर हुनु हुँदैन भनेर । देशको खर्च नहुनु पर्थ्यो अर्बौं खर्च त भइ नै सक्यो । उम्मेदवारको खर्च नहुनु पर्थ्यो भइ नै सक्यो,’ ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दुधजस्तै उम्लिएको टिप्पणी गरे ।
‘अर्को कुरा, सायद साह्रै उम्लिएको । सानो भाँडोमा दुध उमालेर राखेर तलबाट बेसरी चर्को आगो बाल्दिए जस्तै गरेर उम्लिएको कुनै आधार नभएको एउटा जोडजाम वाला पार्टी छ । साह्रै उम्लिएको थियो,’ ओलीले भने, ‘जित्दैनौं भन्ने परेछ क्यारे अब अर्काका झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्न खोज्ने, अपमान गर्ने, बेइज्जत गर्ने त्यस प्रकारका कामबाट उसले क्रियाकलापहरू शुरु गर्या छ ।’
एमाले अध्यक्ष ओलीले निर्वाचनमा पराजय भोग्ने देखेपछि केही तत्त्व समाज भाँड्न लागि परेको टिप्पणी गरेका छन् । रास्वपातर्फ लक्षित गर्दै उनले रौतहटको पछिल्लो घटना पनि यसैको उपज रहेको बताए ।
एमाले सधैँ जनताको बीचमा रहेको, जनताकै बीचमा हुर्किएको पार्टी भएकाले जनताका बीचमा जान कुनै समस्या नरहेको अध्यक्ष ओलीले बताए । तर जनताबाट अस्वीकृत हुने देखिएपछि त्यस्ता तत्त्व समाजमा साम्प्रदायिकता फैल्याउने, अराजकता निम्त्याउने, चुनावको वातावरण धमिल्याउने जस्ता विषयतर्फ लागेको ओलीको भनाई छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।