काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीले बहुमत या ठूलो पार्टीको रूपमा स्थापित हुने बताएका छन्। पार्टीको चुनावी भेलालाई सम्बोधन गर्दै जनताले विश्वास गरेर नै कांग्रेस यहाँसम्म आएको बताए।
उनले भने, ‘पुरानो यत्तिकै हुँदैन। काम गरेर चाहिँ पुरानो भइन्छ। टिकेर पुरानो भइन्छ। सुख, दुःख, अप्ठ्यारोमा पनि जनताको बिचमा अडिग भएर रहने। त्यसकारण कुनै पनि पार्टी पुरानो हुन्छ। नयाँ भनेर केही पनि हुँदैन। कमजोर सामान नयाँ हुन सक्छ, तर केही दिनमै त्यो बिग्रिन्छ।’
अनेकन अप्ठ्याराका बाबजुद कांग्रेस विचलित नभएको बताए।
उनले थपे, ‘हामीमाथि भयो, राज्य संरचनामाथि भयो, तैपनि हामी विचलित भएको छैनौँ। फेरि पनि हामी जनताको बिचमा गइराख्या छौँ। त्यो विश्वास हामीले आर्जित गरिराख्या छौँ। त्यस्तो खाले पार्टी नेपाली कांग्रेस हो। यो कुरा तपाईँ हामीहरूले अब यो चाहिँ एक हप्ता डेढ हप्ता जति समय छ, जनतालाई एक एक गरेर हामीले बुझाउनुपर्यो। सामाजिक सञ्जालबाट जुन दुष्प्रभाव, दुष्प्रचार भएको छ, त्यसलाई हामीले चिर्न जरुरी छ। त्यो चिर्न सक्यौँ भने हामीलाई कसैले रोक्न सक्दैन।’
उनले फागुन २१ मा हुन लागेको निर्वाचनलाई सामान्य रूपमा लिन नहुने बताए।
उनले भने, ‘देश कमजोर हुने खतरा छ। लोकतन्त्र कमजोर हुने खतरा छ। यो अराजकता, अनुशासनहीन मानसिकतालाई प्रोत्साहन गर्ने एउटा प्रवृत्ति विद्यमान छ। त्यो प्रवृत्तिलाई हामीले परास्त गर्न जरुरी छ। देशभित्रै युवा रोजगारी सिर्जना गर्ने, समृद्धि सुनिश्चित गर्ने, समृद्धिको पहुँचमा हरेक नेपालीको घर आँगनमा त्यो समृद्धि पुर्याउने, त्यो लक्ष्य हामीले हासिल गर्नु छ। त्यो लक्ष्य अरू कसैले हासिल गर्न सक्दैन, त्यो नेपाली कांग्रेसले गर्छ।’
नयाँ पार्टीको कहाँबाट आउने कहाँ जाने भन्ने अत्तोपत्तो नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।