काठमाडौं– नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाकाे निन्दा गरेकाे छ ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शङ्कर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गरेका छन् ।
देश जलाउनेहरूबाटै एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएकाे एमालेले टिप्पणी गरेकाे छ ।
विज्ञप्तिमा भनिएकाेछ, ‘दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । प्रतिस्पर्धाकै लागि चुनावी माहोलमा होमिएको एउटा स्थापित राष्ट्रिय शक्ति एमालेको आस्थामा चोट पुऱ्याउने काम रास्वपाले भन्ने गरेको ‘नयाँको मानक’ बन्न सक्ला । तर यो लोकतन्त्रको परिधिभित्र पर्दैन । रास्वपाका कार्यकर्ताको यो हर्कत मुलुकलाई चरम अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्वलाई आमन्त्रण गरिएको एक उदाहरण हो ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।