काठमाडौँ– नेपाली काँग्रेसका नेता गगन थापाले राजधानीस्थित कमलपोखरी क्षेत्रमा छठ पर्व मनाउने परम्परा प्रारम्भ गराउने पहल आफूले गरेको बताएका छन्।
मधेश क्षेत्रसँग सांस्कृतिक तथा भावनात्मक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले उक्त काम अघि बढाइएको उनको भनाइ छ।
मधुबनी (सर्लाही-४) मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले काठमाडौँ र मधेशबीचको सम्बन्धलाई संस्थागत रूपमा मजबुत बनाउन लामो समयदेखि प्रयास गरिरहेको उल्लेख गरे। केही दिनअघि जनकपुरमा सम्पन्न कार्यक्रममा सहभागी भएको प्रसंग स्मरण गर्दै उनले स्थानीय परम्परा र संस्कृतिप्रति सम्मान र सहकार्यको प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।
थापाका अनुसार पूर्व राष्ट्रपति डा. रामवरण यादव निर्वाचित भएपछि करिब एक दशकअघि कमलपोखरीमा छठ पर्व मनाउने कार्य प्रारम्भ गरिएको थियो। त्यसअघि राजधानीमा सीमित स्थानमा मात्र छठ मनाइने र रानीपोखरीमा उक्त पर्व सञ्चालन रोकिएको अवस्थामा कमलपोखरीलाई वैकल्पिक स्थलका रूपमा विकास गरिएको उनले स्मरण गरे।
उनले काठमाडौँ र मधेशबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास निरन्तर रहने उल्लेख गर्दै आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका समस्याको समाधानका लागि प्रत्यक्ष रूपमा सक्रिय रहने धारणा पनि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।