काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीस्थित भैरहवामा फागुन ९ गते आयोजना गर्ने तय गरिएको प्रदेशस्तरीय चुनावी आमसभा हाललाई नगर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रको निर्देशनअनुसार कार्यक्रम रोकिएको जानकारी दिइएको हो।
रास्वपा रुपन्देही–३ का चुनावी संयोजक नारायणप्रसाद भण्डारीका अनुसार केन्द्रबाट प्राप्त निर्देशनपछि निर्धारित सभा स्थगन गरिएको हो। केन्द्रीय कार्यालयले प्रदेश तहलाई पठाएको औपचारिक पत्रमा संगठनात्मक प्राथमिकताको पुन:व्यवस्थापन, रणनीतिक तयारी तथा अन्य व्यवस्थापनसम्बन्धी कारण उल्लेख गरिएको जनाइएको छ।
कार्यक्रमको तयारी अन्तर्गत स्थानीय स्तरमा प्रचार सामग्री व्यवस्थापन, पत्रकार सम्मेलन आयोजना तथा मञ्च निर्माणलगायतका काम अघि बढिसकेको अवस्थामा निर्णय आएको बताइएको छ।
यसैबीच, राजनीतिक वृत्तमा भने कार्यक्रम स्थगनको पृष्ठभूमिमा पछिल्लो समय दाङमा घटेको घटनालाई समेत जोडेर हेरिएको छ। सो घटनामा रास्वपा समर्थक भनिएका व्यक्तिहरूले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको समाचार सार्वजनिक भएपछि एमाले कार्यकर्ताहरू असन्तुष्ट भएको बताइएको छ। उता एमाले पक्षले आफ्ना प्रतीक र नेतृत्वप्रति लक्षित गतिविधिप्रति आपत्ति जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।