काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले कर्णालीको गहिराइलाई बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरेका छन् ।
सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले कर्णालीको पीडा र दुःखलाई बेच्ने नेता धेरै आएको र बुझ्ने पार्टी रास्वपा बन्न चाहेको उनले बताए ।
‘यो देशको सबैभन्दा ठूलो ताल रारा ताल राजा महेन्द्रले भन्नुभएको जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा खुसी लागेको छ,’ बालेनले भने, ‘देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौँ । त्यो बुझ्ने पार्टी हो रास्वपा ।’
कर्णालीको यार्सागुम्बा विश्वभर पुग्न सक्ने बताउँदै बालेनले कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झापा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
‘आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभर पुग्न सक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झापा पुग्न सक्दैन । यहाँको उत्पादनलाई कम्तीमा पनि देशभर पुर्याउने पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।