काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गर्दै विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितका नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
विगु गाउँपालिका-१ मा आयोजित वडा स्तरीय कार्यक्रममा एमाले र नेकपा माओवादी पृष्ठभूमिका दर्जनौँ नेता-कार्यकर्ताले पार्टी परिवर्तन गरेको जनाइएको छ। एमालेबाट पार्टी छोड्नेहरूमा वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी तामाङ, लालमान तामाङ, सीतादेवी श्रेष्ठ तथा वडा नं. २ की पार्वती जीसी रहेका छन्।
यसैगरी पालिका कमिटी सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी, पार्वती ठकुरी र रत्नविक्रम थापा मगर पनि काँग्रेसमा समाहित भएका छन्।
त्यस्तै नेकपा समूह परित्याग गर्दै साङछिरी तामाङ, कुमार विक, रन्जिमाया तामाङ, पदममाया तामाङ, काले तामाङ र मन्जु नेपालीले पनि काँग्रेस रोजेको जनाइएको छ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले बदलिएको राजनीतिक सन्दर्भमा काँग्रेसप्रति आकर्षण बढेकाले आफूले पार्टी परिवर्तन गर्ने निर्णय गरेको बताए। नवप्रवेशीहरूले विकाससम्बन्धी स्पष्ट दृष्टिकोण, लोकतान्त्रिक मूल्यको संरक्षण तथा युवा नेतृत्वको आवश्यकतालाई प्राथमिक कारणका रूपमा उल्लेख गरेका थिए।
नवआगन्तुकहरूलाई प्रतिनिधि सभा उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिकतर्फकी उम्मेदवार छिरिङ डोल्मा शेर्पाले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।