काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको नतिजाबारे अनुमान गर्ने वा मत सर्वेक्षण गरी सार्वजनिक गर्ने कार्यप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित मतदाता शिक्षा तथा प्रचार प्रसार सम्बन्धी छलफलमा उनले यस्ता गतिविधिले मतदाताको स्वतन्त्र निर्णय लिने अधिकारलाई दिगभ्रमित तुल्याउने स्पष्ट पारेका हुन् ।
भण्डारीले मतदान हुनुअघि नै हारजितको अड्कलबाजी गर्दा उम्मेदवारहरू हतोत्साहित हुने र स्वस्थ प्रतिस्पर्धाको वातावरण खल्बलिने बताए।
‘अनुमानका भरमा नतिजा सार्वजनिक गर्दा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्छ,’ उनले भने, ‘यस्ता कार्य निर्वाचन आचारसंहिता विपरीत हुन्, त्यसैले कसैले पनि मत सर्वेक्षण सार्वजनिक नगर्नुहोला।’ उनले सञ्चारमाध्यमलाई चौथो अङ्गको जिम्मेवारी वहन गर्दै संयम अपनाउन र निर्वाचनको मर्यादा राख्न समेत आग्रह गरे ।
पछिल्लो समय प्रविधिको दुरुपयोग बढ्दै गएकोप्रति सङ्केत गर्दै प्रमुख आयुक्त भण्डारीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा नफैलाउन चेतावनी दिएका छन् । प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको गलत प्रयोगले निर्वाचनलाई नै धराशायी बनाउन सक्ने जोखिम रहेको उनको भनाइ छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु सबैको साझा संवैधानिक कर्तव्य भएको भन्दै उनले प्रेस स्वतन्त्रताको उपभोग गर्दा मतदाताको गोपनीयताको अधिकारलाई ख्याल गर्न समेत सुझाएका छन् । आयोगले निर्वाचनलाई स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै पक्षको सकारात्मक भूमिकाको अपेक्षा गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।