काठमाडौं– सामाजिक अभियन्ता तथा संयुक्त अपाङ केन्द्रका अध्यक्ष तिलबहादुर कार्की सम्मानित भएका छन् । निलकृष्ण–जशोदा सिटौला फाउण्डेशन, नर्दन क्यालिफोर्नियाद्वारा आयोजित सम्मान तथा पुरस्कार अर्पण समारोह २०८२ मा कार्कीसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू सम्मानित भएका हुन् ।
समारोहका क्रममा कार्कीलाई नगद ७२ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । विगत दुई दशकदेखि अभिभावकविहीन तथा असहाय बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएका कार्कीलाई सामाजिक सेवामा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।
सम्मानपछि कार्कीले फाउण्डेशनले आफ्नो संस्थालाई पहिलेदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै उक्त सम्मानले सामाजिक कार्यप्रति जिम्मेवारी अझ बढाएको बताए । उनले भने, “संस्थाको प्रतिनिधित्व गर्दै सम्मानित हुँदा समाजसेवामा अझ गम्भीर भएर लाग्नुपर्ने महसुस भएको छ ।”
फाउण्डेशनका संस्थापक ईश्वर कान्त सिटौलाका अनुसार चिकित्सा विज्ञानदेखि साहित्य, शिक्षा, पत्रकारिता, संगीत तथा सामाजिक सेवासम्मका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नेपाली व्यक्तित्वहरूलाई यस वर्ष सम्मान गरिएको हो ।
यस वर्ष सम्मानित हुने व्यक्तित्वहरूमा
– प्रा. डा. लोक विक्रम थापा (चिकित्सा विज्ञान, सिन्धुली)
– प्रा. डा. टंकनाथ धमला (गणित विज्ञान)
– जिबराम भण्डारी (अनुसन्धानमूलक पत्रकारिता, ओखलढुंगा)
– रिन्चेन योञ्जन (गोपाल योञ्जन फाउण्डेशन)
– भूषिता वशिष्ठ (साहित्य तथा संस्कृति, धरान–सुनसरी)
– सन्तोष परियार (आधुनिक शिक्षण पद्धति, दाङ)
– देवी घर्ती (लोकगायन, बागलुङ)
– तिलबहादुर कार्की (सामाजिक सेवा)
– खेमराज निरौला (महाकाव्य रचना, ताप्लेजुङ)
फाउण्डेशनले समाज रूपान्तरण र सकारात्मक योगदानलाई सम्मान गर्दै आगामी दिनमा अझ व्यापक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।