कास्की– पोखरामा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बीएए १५८२ नम्बरको कार फेवातालमा खस्दा चालकको मृत्यु भएको हो।
कारचालक स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी वसन्तबहादुर सिंहले जानकारी दिए।
चालकले नियन्त्रण गुमाइ कार तालमा खसेर दुर्घटना भएको उनको भनाइ छ। कालिका गणबाट खोताखोर सहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो। गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा अस्पतालले मृत घोषणा गरेको हो।
प्रहरीले क्रेनको सहायताले सवारीसाधन घटनास्थलबाट बाहिर निकाली थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय बैदाम लगेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।