लन्डन - हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिन पछिल्लो समय समाचारमा छाएर चर्चामा छन्।
हलिउडका कैयौं लोकप्रिय र प्रतिष्ठित अभिनेत्रीहरुले यौन उत्पीडनको आरोप लगाएपछि उनी निकै समस्यामा फसेका छन् । अमेरिकी अभिनेत्री एन्जेलिना जोली, जेनिफर लरेन्स र ग्विनेथ पाल्त्रोवसहित कैयौं अभिनेत्रीले जुन आरोप लगाएका छन्, त्यो निकै लज्जास्पद रहेको छ।
यौन उत्पीडनबारे दैनिकजसो नै हार्वीमाथि आरोप लगाउने व्यक्तिहरु देखिइरहेका छन् । ताजा मामिला अभिनेत्री ऐश्वर्या रायको आएको छ । ऐश्वर्यका म्यानेजरले दाबी गरे अनुसार हार्वीले ऐश्वर्यासँग एक्लै भेटघाट गर्ने प्रयास गरेका थिए।
आरोप लगाउने अधिकांश अभिनेत्रीहरु आफ्नो करिअरको सुरुवाती चरणमा थिए, जुन बेला उनीहरुलाई निशाना बनाइएको थियो । त्यसै कारण हार्वी जस्ता प्रभावशाली व्यक्तिले गरेको ज्यादती विरुद्ध आवाज उठाउन नसकेको उनीहरुले बताएका छन्।

ऐश्वर्या राय बच्चनका इन्टरनेसनल ट्यालेन्ट म्यानेजरका अनुसार हार्वीले ऐश्वर्यासँग पनि एकान्तमा भेट्ने इच्छा व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय मञ्चहरुमा हार्वीसँग ऐश्वर्याको कैयौं पटक भेट भइसकेको छ ।
जानकारी अनुसार उनले कसरी एकान्तमा भेट्न सकिन्छ भनेर ऐश्वर्याका म्यानेजरसँग सोधेका थिए । तर, म्यानेजरले कुरा अघि बढ्न नदिएको बताइएको छ। बिबिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।