काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को डेरामा चोरी गर्ने तीन जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमध्ये एक जना जेन–आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी रहेको खुलेको छ । पक्राउ परेकामध्ये मनिष राजवाहक गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेलबाट भागेको खुलेको हो । उक्त कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई कार्यकर्ताले निकालेपछि अरू थुप्रै कैदीबन्दीहरु भागेका थिए ।
यस्तै पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोक, लिसंखुपाखर- ६, पड्कु घर भई काठमाडौं, गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी, दिपायल- ६ घर भई धादिङको धुनिवेँशी, खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।
४२ वर्षीय राजवाहकलाई प्रहरीले गत २३ माघमा बाँसबारीबाट पक्राउ गरेर आज सार्वजनिक जानकारी दिएको हो । यसअघि बालेन शाहको घरमा चोरी भएको हल्ला चलेको थियो । तर चोरीमा भने डेरामा भएको पाइएको छ । कुन मितिमा चोरी भएको हो भनेर प्रहरीले बताएको छैन ।
जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीहरू खोज्ने क्रममा राजवाहक पक्राउ परेका हुन् । उनी २०७९ पुस १८ मा चोरी मुद्दामा ३ वर्ष ६ महिनाको सजायका लागि जेल चलान भएका थिए । उनी विरुद्ध २०७२ जेठ २४ मा प्रहरी वृत्त कालीमाटीबाट सार्वजनिक अपराध र महाराजगञ्ज वृत्तबाट २०७२ असार ८ मा चोरी मुद्दा चलेको थियो । प्रहरीका अनुसार बालेनको घरमा चोरी गर्ने मुख्य व्यक्ति उनै हुन् । उनले चोरी गरेको कबुल गरेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।