नयाँ दिल्ली (एजेन्सी)- विद्या बालन केन्द्रीय भूमिकामा रहेको फिल्म 'तुम्हारी सुलु' को ट्रेलर सार्वजनिक भएको छ।
साढे २ मिनेटको ट्रेलरमा विद्या नै छाएकी छन् । फिल्मको कथा मध्यमवर्गीय गृहिणी रहेकी सलोचना (विद्या बालन) को जिन्दगीमा आधारित छ । सलोचना निकै रमाइलो गर्ने पात्रको रुपमा देखिएकी छन् । ट्रेलरमा गृहिणीबाट विद्या कसरी रात्रिकालीन रेडियो प्रस्तोता 'साडीवाली भाभी' बन्छिन् भन्ने देखाइएको छ।
'डर्टी पिक्चर', 'कहानी', 'भुलभुलैया' जस्ता फिल्ममा प्रभावशाली भूमिका निर्वाह गरिसकेकी विद्याको पछिल्ला केही फिल्महरुले भने बक्स अफिसमा राम्रो गर्न सकेको थिएन । 'शादी के साइड इफेक्ट्स', 'बबी जासुस', 'हमारी अधुरी कहानी' र 'बेगम जान' एकपछि अर्को गरी फ्लप भएका थिए । यस्तो स्थितिमा 'तुम्हारी सुलु' विद्याको करिअरको लागि महत्त्वपूर्ण मानिएको छ।
फिल्ममा विद्या बालनका साथै मानव कौल र नेहा धूपिया पनि मुख्य भूमिकामा देखिएका छन् । सुरेश त्रिवेणीले निर्देशन गरेको फिल्म नोभेम्बर १७ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।